काठमाडौ, श्रावण २ - जेम्स क्यामरुनको ‘अवतार’ हेर्दा मलाई लागेको थियो, फिल्म निर्देशकहरू आफूलाई कहिलेकाहीं भगवान् बनाउने प्रयत्न गर्छन्, एउटा समानान्तर दुनियाँ सिर्जना गरेर। भगवान्का गाथामा भनिनेजस्ता वा कथाहरुमा वर्णन गरिनेजस्ता पात्र र कथाहरू उनीहरू पर्दामा गढ्छन्। यही काम लेखक–कथाकारले पनि गर्छन्।
अनौठा सिर्जनाहरू गरेर दर्शकलाई ‘च्यालेन्ज’ गर्ने बानी परेका एसएस राजामौली यसपालि झन् विराट कल्पना र उन्नत प्रविधिका साथ देखा परेका छन्। यसअघिको फिल्म ‘इग्गा’ (मक्खी) मा उनले एउटा माखालाई हिरो बनाएका थिए। माखाका रूपमा पुनर्जन्म पाएको हिरोले कसरी आफ्नो मृत्युको बदला लिन्छ भन्ने रोमाञ्चक कथा भनेर उनले दर्शकलाई चकित पारेका थिए।
यसपालि राजामौलीसँग त्यस्तो चामत्कारिक कथा छैन। तर, सिनेमा खाली कथाको मात्रै खेल होइन। यो त दृश्य र ध्वनिको अदभुत सम्मिश्रण हो। त्यो सम्मिश्रणले पैदा गर्ने सम्मोहनको खेल हो। राजमौली यो खेलका उस्ताद हुन्। भारतीय सिनेमालाई ‘बलिउड’ भनेर सीमित गरिने गरेको भए पनि प्रयोगका हिसाबले दक्षिण भारतीय फिल्ममेकरले बलिउडलाई उछिन्ने गरेका छन्। अडुर गोपालकृष्णनन्, मणिरत्नमदेखि शंकर र राजामौलीसम्मका निर्देशकहरूले भारतीय फिल्मको कल्पनाशीलता र कलात्मकतालाई व्यापक बनाउने काम गरेका छन्। यसको पछिल्लो उदाहरण हो– ‘बाहुबली’।
दृश्यका हिसाबले यो फिल्मलाई ‘स्टनिङ’ भनिदिँदा हुन्छ। कुनै पनि हिन्दी फिल्ममा आजसम्म कहिल्यै नदेखिएका दृश्यहरू यसमा छन्। चाहे त्यो पानीको छहरा, भीर, नदी वा हिउँ होस्, भिजुअल इफेक्टको यति सुन्दर प्रयोग भारतीय फिल्ममा देखिएको थिएन। चारतिरबाट भयंकर आवाजसहित झरिरहेका झरनाहरूको समूहलाई देख्दा लाग्छ, पुराणमा वर्णन गरिने गंगा यही हो। भागीरथको तपस्या पूरा गर्न स्वर्गबाट महादेवका जटा हुँदै पृथ्वीमा झरेकी गंगा यिनै हुन् भन्ने गरी पानीको बहावलाई निर्देशकले पेस गरेका छन्। र, यस्तो उनले नजानेर गरेका होइनन्। हिरोको एउटा ‘इन्ट्रोडक्टरी’ दृश्यमा जब उसले विशाल शिवलिंग उठाएर पानीको बीचमा पुर्‍याउँछ, त्यतिबेला पाश्र्वमा बज्ने गीतले भन्छ, ‘यस्तो लाग्छ मानौं शिवलाई भेट्न भागीरथी आइरहेकी छन्।’
विशाल जलपर्वतमुनि बस्ने हिरोको मनमा कौतूहल छ, यो पर्वतदेखि पर के होला? स्वयं महादेवबाहेक कसैले पार गर्न नसक्ने ठानिएको यो जलपर्वतलाई हिरोले कसरी पार गर्छ र त्यो पर्वत पारीको दुनियाँले उसको जीवनमा के–के परिवर्तन ल्याउँछ भन्ने कथा बाहुबलीको कथासार हो।
दृश्य–चमत्कार त्यो पवर्तपारि पनि कायम रहन्छ। दरबारदेखि जनावरसम्मको निर्माणमा स्पेसल इफेक्टको व्यापक प्रयोग गरिएको छ। राजाले ढलाउने साँढे र अन्य केही दृश्यमा खुस्किएको भए पनि स्पेसल इफेक्टले नै यो पूरै फिल्मलाई धानेको छ। करिब ३० मिनेट लामो युद्धको दृश्य फिल्मको अर्को ‘हाइलाइट’ हो।
पुरानो जमानाको कथाजसरी भनिएकाले पनि कथामा खासै नवीनता छैन। दरबारभित्र हुने षड्यन्त्रको कथाले महाभारतजस्ता ग्रन्थहरूमा नै उत्कृष्टता पाएका छन्। राजामौलीले थुप्रै हलिउड फिल्म, पुराणका कथा र धार्मिक कथाबाट आफ्ना पात्र, तिनको वेशभूषा र घटनाहरू लिएका छन्। हलिउडका ‘ट्रोय’, ‘वान थाउजेन्ड बिसी’, ‘एप्पोक्लिप्टो’ र ‘थ्री हन्ड्ेरड’ जस्ता फिल्मबाट उनले केही तत्त्वहरू लिएका छन्। र, त्यसमा पुराणका कथाहरू मिसाएका छन्। समग्रमा यो राजामौलीले पर्दामा निर्माण गरेको महाकाव्य हो, जसलाई शब्दले होइन, हतियारले लेखिएको छ।
अन्त्यतिर आइपुग्दा फिल्म राजनीतितिर सोझिन्छ। दरबारिया षड्यन्त्र, जालझेल र कपटको शक्ति संघर्षको कथामा पुग्छ। फिल्मको हरेक पक्ष, चाहे त्यो पात्रको आन्तरिक द्वन्द्व होस् वा लडाइँ सबै ‘लार्जर देन लाइफ’ छ। मदिरालयको आइटम गीतले फिल्मको मुडमा फरक रंग थपे पनि हिंसाको मात्रा फिल्ममा बढी नै छ।
यति सबै चीज भएर पनि यो फिल्म पूर्ण छैन। सबभन्दा बढी त फिल्म नै कथाको पहिला भाग मात्र हो, सुरुवातको। यसको अन्त्य अर्को वर्ष आउने बताइएको छ। कथालाई बीचमै छोडेर फिल्म टुंगिँदा यो ‘सिरियल’ जस्तो पनि लाग्छ। यसबाहेक न त फिल्मले डाँकाजसरी ओडारमा लुकेर बसेका कविलाको कथा भन्छ, न त बाहुबलीलाई हुर्काइ बढाइ गर्ने परिवारको। चतुर र फुर्तिली लडाकुजस्ती बनाइएकी हिरोइनलाई घरीघरी ‘बेवकुफ’ देखाइएको तार्किक लाग्दैन। दरबारको कथातिर लागे पनि यसले दरबारको पनि पूरै कथा बताउँदैन। दोस्रो भागका लागि केही रहस्य राखिएकाले फिल्मको कथा नै अपूरो लाग्छ।
तेलुगु अभिनेता प्रभासले बाहुबलीका रूपमा प्रभाव पार्छन्। चार भाषामा रिलिज गरिए पनि यसको मूल भाषा हिन्दी होइन। यसैले, डबिङ र शब्द उच्चारणमा पनि समस्या देखिन्छ। हिन्दी फिल्म खेलिसकेका राणा दग्गुबत्ती यसमा नकारात्मक चरित्रमा देखिन्छन्। उनको भीमकाय शरीरको निर्देशकले राम्रो उपयोग गरेका छन्। तमन्नाको अभिनयमा कुनै विशेषता छैन। बरु, ‘खलनायक’ देखि ‘बडे मिया छोटे मिया’ जस्ता हिन्दी फिल्म खेलेकी रमैयाले राजमाताका रूपमा प्रभाव पार्छिन्। एक दृश्यमै भए पनि ‘मक्खी’ अभिनेता सुदीपले छाप छोड्छन्।
पूर्णत: कल्पना, मिथक र प्रविधिको कमाल भएकाले यसमा तर्कले खासै धेरै काम गर्दैन। यो फिल्मको कमजोरी पनि हो, कथाअनुसारको विशेषता पनि। स्वैरकल्पनामा यस्ता कुरा सामान्य मानिन्छन्। ‘मक्खी’ मा राजामौलीले एउटा कमजोरको बलवानसँगको भिडन्त देखाएका थिए। यसमा उनले स–साना कुराहरूको मिहिन वर्णन गरेका थिए र दर्शकको संवेदनालाई छोएका थिए। ‘बाहुबली’ मा उनले भव्यता र काल्पनिकीले दर्शकलाई लठ्याउन खोजेका छन्। यसमा उनी सफल पनि छन्।

Post a Comment

 
Top