मेलबर्न, श्रावण ३ - इटालीको एएस रोमाले स्पेनको रियल म्याड्रिडलाई इन्टरनेसनल च्याम्पियन्स कपको उद्घाटन खेलमा टाइब्रेकरमा पराजित गरेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट आवश्यक परेको हो ।
टाइब्रेकरको सुरुआती १२ प्रहार गोलमा परिणत भएपछि इटालीका गोलरक्षक मोर्गन डेले लुकास भाजक्वेजको प्रहार बचाए । त्यसयता सेयडु केइटाले निर्णायक प्रहार गरे र खेल रोमाको पक्षमा ७–६ रह्यो । क्रिस्टियानो रोनाल्डो र गेराथ बेल जस्ता स्टार खेलाडीले भरिएको रियलले ८० हजारभन्दा बढी दर्शक अगाडि अपेक्षित खेल पस्किन सकेन ।
नयाँ प्रशिक्षक राफेल बेनिटेजले क्लब सम्हालेयता रियलले खेलेको यो पहिलो खेल हो । कार्लो एन्सेलोटी बर्खास्तीमा परेयता बेनिटेजले टिम पाएका हुन् । हारका बावजुत बेनिटेजले भने, ‘मेरो विश्लेषणमा आज रियलले राम्रा खेलेको हो । हामीले पर्याप्त अवसर पनि सिर्जना गरेका थियौं ।’
सिटी विजयी
गोल्डकोस्ट– समिर नासरीले खेलको अन्त्यतिर गोल गरेपछि शनिबारको मैत्रीपूर्ण खेलमा इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मेलबर्न सिटीलाई १–० ले हराएको छ । फ्रान्सेली खेलाडीले ८६ औं मिनेटमा भलीको मदतले आकर्षक गोल गरेका थिए । खेल अधिकांश समय सिटीको नियन्त्रणमा रहेको थियो, तर उसले गोलको अवसर भने बनाउन सकेन ।
Post a Comment