डेढ वर्षअघिसम्म उनी सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी थिए । काठमाडौंसहित देशका विभिन्न स्थानमा ६ सय कर्मचारी तथा १० वटा शाखा भएको सिद्धार्थ कटेजले उनलाई नाम र दाम दुवै दिएको थियो । अचानक उनी रेस्टुराँका सेयरसमेत बेचेर गाउँ उक्लिए । हिजोआज उनी गुल्मी र पाल्पाका पहाडी किसानका गडफादर भएका छन् । उनले खोलेको पैंचो पसलले परम्परागत खेती एवं व्यापारमा अनौठो परिवर्तन ल्याएको छ । एकैपटक १६ वटा शाखा खोलेर एक वर्षअघि ३ करोडको लगानीमा खुलेको पैंचो पसलले बुटवलदेखि भैरहवाको स्वाद परिवर्तन गरेको छ भने पहाडी गाउँका किसानहरूको आवश्यकता पूरा गरेको छ । एक वर्षमै उनको कामले कति लोकप्रियता कमायो भने उनको कार्यलाई सरकारका मुख्यसचिव लीलामणि पौडेलले गाउँमै पुगेर सम्मान गरे । 



तपाईं राम्रो आम्दानी दिने होटल छाडेर गाउँ जानुभयो । किन ?

१५ वर्षयता सिद्धार्थ कटेजले हामीलाई पैसा दियो, इज्जत दियो । सबैभन्दा ठूलो कुरा हामीलाई व्यवसायको कला  दियो, सँगैसँगै केही गोप्य ज्ञान पनि दियो । जब म दसैं–तिहारमा पहाड उक्लन्थें, प्रत्येक घरमा केही न केही उत्पादन भएको देख्थें, तर ती उत्पादन बजारसम्म पुर्‍याउने नेटवर्क नहुँदा त्यसको कुनै महत्त्व थिएन । जति–जति रेस्टुराँमा भिज्दै गएँ, मलाई गाउँघरका ती उपजको सम्झना आउँदै गयो । मैले ती उपज सहरमा ल्याउन सकिनँ भने कसले ल्याउँछ भन्ने कुराले यति पिरोल्यो कि काठमाडौंको बसाइ, यहाँको आम्दानी र हाइफाइ फिका लाग्न थाल्यो । म आत्मसन्तुष्टिका लागि पहाड उक्लिएको हुँ । 



पैंचोको योजना कसरी बन्यो ?

जब म ग्राहकलाई भनेजस्तो सन्तुष्टि दिन सक्दिनथेँ, जब किसानको उपज त्यसै खेर गएको सम्झन्थें, मनले पैंचोको योजना बनाउँथ्यो । सञ्चारमाध्यमको यत्रो विकास भएको छ, गाउँ–गाउँमा बाटो बनेको छ, घर–घरमा उत्पादन छन् तर काठमाडौं र अन्य सहरहरूमा विदेशबाट कृषि उपज ल्याउनुपरेको छ । यी सबै कुरा सोच्दासोच्दै पैंचोको अवधारणा आयो । 



पैंचो एक वर्षमै लोकप्रिय भयो, सञ्चारमाध्यमदेखि सरकारसम्मले तपाईंको कामलाई महत्त्व दिन थालेका छन् । खासमा कुन जादु–मन्त्र चलाउनु भयो ?

मेरो सिम्पल थ्यौरी छ । पहाडका घर–घरमा जे–जे फलेका छन्, ती सामग्री हामी उहाँहरूकै घरमा पुगेर किन्छौं । हामी बारी–खेतमा फलेको जुनसुकै कुरा पनि किन्छांै । त्यसको बदलामा हामी नगद दिँदैनौ । बरु उहाँलाई चाहिएको नुन, तेल, कपडा, भाँडाकुँडा वा अन्य भौतिक सामग्री उपलब्ध गराउँछौं । मानौं दिलबहादुरको घरको छानाभरि फर्सी फलेका छन् तर उहाँको घरमा टेलिभिजन छैन । हामी ती फर्सी उहाँले भनेको दाममा किन्छौं तर टेलिभिजन बजारमा पाइने मूल्यभन्दा सस्तोमा दिन्छौं । यसो गर्दा उहाँले फर्सी बेच्न बजारमा जानुपरेन, न त कुन टेलिभिजन राम्रो भन्दै बजार नै पुग्नुपर्‍यो । 



तपाईंले फर्सीलाई दिएको मूल्य वा टेलिभिजन बेचेको मूल्य उचित हो भनेर गाउँलेहरूले विश्वास नगर्न पनि सक्छन् नि ?

तरकारी किन्ने दलाल गाउँ–गाउँमा छन् । त्यसैगरी टेलिभिजन पनि गाउँछेउका जुनसुकै बजारमा पाइन्छन् । हामीले कुनै पनि कृषि उपज दलालले दिने भन्दा बढी मूल्य तोकिदिएका छौं । फर्सीमा फूल लाग्नुअघि नै हामी तपाईंको फर्सीको मूल्य योभन्दा कम हुँदैन भनेर तोकिदिन्छौं । यता हामी टेलिभिजन सहरी क्षेत्रमै होलसेल मूल्यमा किन्छौं तर धेरै नाफा राख्दैनौं । त्यसैले हाम्रो टेलिभिजनको मूल्य पहाडका पसलको मूल्यभन्दा धेरै सस्तो हुन्छ । आज मानिसहरू धेरै बाठा भैसकेका छन् । कसले कुन मूल्यमा के दिइरहेका छन्, सबै थाहा हुन्छ ।



गाउँको सामग्री कहाँ लानुहुन्छ ? गाउँका लागि चाहिने लत्ताकपडा वा नुन–तेल कसरी पुर्‍याउनुहुन्छ ?

हामीले बुटबलमा पैंचो पसलकै नाममा कृषि डिपो खोलेका छौं । जहाँ पहाडबाट अग्र्यानिक उपज बोकेर हाम्रो मिनी ट्रक एकाबिहानै बुटबल बजार आइपुग्छ । अर्को गाडी बिहान गाउँलेहरूलाई चाहिने लत्ता–कपडा, टेलिभिजन वा भाँडाकुँडा बोकेर बुटवलबाट पहाडतर्फ उक्लन्छ । पाल्पा र गुल्मीका १२ गाविसका १ हजार घरबाट हाम्रो कृषि उपज जम्मा हुन्छ । प्रत्येक गाउँका चोकमा हामीले पैंचो कलेक्सन सेन्टर राखेका छौं । गाउँलेहरू आफ्ना उपज बोकेर त्यहाँ पुग्छन् र आफूलाई चाहिएको सामग्री हामीलाई टिपाउँछन् । भोलिपल्ट उहाँहरूलाई चाहिएको सामग्री बोकेर हाम्रो ट्रक त्यहाँ पुग्छ । यसरी हामी करिब १० हजार जनतासँग प्रत्यक्ष जोडिएका छौं । ५५ जना कर्मचारी गाउँ–गाउँमा खटिएका छन् । हाम्रा कर्मचारीमा जेटिए तथा फुड टेक्नोलोजिस्ट पनि छन्, जसले गाउँमा कुनै उत्पादन वा खाद्य सामग्रीमा समस्या आए समाधान गर्छन् । 



सुन्दा निकै सजिलो लाग्यो, सुरुवात कसरी गर्नुभयो ?

सुरुवात गर्न धेरै अप्ठ्यारो भयो । हामीले दुई थरी मान्छेसँग जुध्नु परिरहेको छ । पहिलो, गाउँघरमा अन्न उठाउने दलाल र अर्को स्थानीय बजारका व्यापारीहरू । अन्न उठाउनेहरूले धेरै नाफा राखेर गाउँलेहरूबाट सामग्री लिन्थें । हाम्रा कारण उनीहरूको आम्दानी खोसियो । उनीहरूको मनोमानी वा बिचौलियापन काम लागेन । हामीले ठूलो लगानी गरेर गाउँ–गाउँमै ट्रक पुर्‍याएपछि उनीहरू आत्तिनु स्वभाविक थियो । अर्को स्थानीय बजारका व्यापारीहरूले बेच्ने लत्ता–कपडा, भाँडाकुँडादेखि कम्प्युटर–मोबाइलसम्म हामीले घर–घरमा पुर्‍याइदियौं । त्यसले स्थानीय बजारको व्यापार घट्यो । उनीहरूसँग पनि जुध्नुपर्‍यो । मुख्य कुरा, यस्ता व्यापारीहरूले पहिले यिनीहरू सहरबाट हामीलाई ठग्न आएका हुन्, राजनीति गर्न र हामी सोझा जनतालाई सुरु–सुरुमा सस्तो दिएर फसाउन आएका हुन् भनेर गाउँलेहरूलाई उकासे । यसले केही सास्ती भोग्नुपर्‍यो । हुन त जसले शत्रु कमाउँदैन, ऊ सफल हुन सक्दैन । 



गाउँलेहरूले गाउँले व्यापारीमा विश्वास नगरेर तपाईंलाई नै किन कृषि उपज दिए होलान् ?

हाम्रो कम्पनीमा काम गर्ने धेरैजसो कामदार स्थानीय युवती वा महिला छन् । मेरो गृह जिल्ला पनि गुल्मी नै हो । मुख्य कुरा, जनताले आफ्नो उपजको उचित मूल्य पाए कि पाएनन् भन्ने कुरा गाउँमा चर्चा हुन थाल्यो । उपजको उचित मूल्य पाउनु, स्थानीय बासिन्दाले रोजगारी पनि पाउनु र आफूलाई चाहिएको सामग्री पनि सस्तो हुन थालेपछि अहिले सबैले मद्दत गर्न थाल्नुभएको छ । 



दुई जिल्लाका १६ स्थानबाट उठाएको सबै सामग्री खपत हुन्छ त ?

पहिले हामीलाई सबै सामग्री बिक्री हुँदैन कि भन्ने पीर नलागेको होइन, तर खुलेको केही महिनामै हाम्रो उत्पादनको माग ह्वात्तै बढ्यो । खास कारण के रहेछ भने बुटबल क्षेत्र वरपर धेरै मानिस पहाडबाट बसाइँ सरेका छन् । सानैदेखि जुन दाल, भात र स्थानीय तरकारी खाने बानी परेको थियो, त्यो स्वाद तराईं झर्दा पाइन छाडेको थियो । हामीले उहाँकै घरअघि त्यो स्वादिलो सामग्री उपलब्ध गराउन थाल्यौं । ठेकीमा पारेको घिउ, चुक अमिलो, सिस्नो, लेकको मकै तराईमा पाइन थालेपछि नयाँ–नयाँ सामग्रीको माग आउन थाल्यो । हामी सञ्चालनको एक वर्षमै नाफामा गएका छौं । 



अरू जिल्लामा विस्तार गर्ने योजना छ ?

अहिले ती दुई जिल्लामै थप लगानी गरेर, फलफूलको जाम बनाउने तथा जडीबुटी संकलन गर्ने योजनामा छौं । यसका लागि हामी थप ४ करोड लगानी गर्दैछौं । सबैभन्दा पहिले हामी पहाडका सबै सामग्री किन्न सक्ने अवस्थामा पुग्नुपर्छ । गाउँलेहरूलाई पूर्ण रूपमा कृषिमै आत्मनिर्भर बनाउन त्यहाँका सुन्तला, अम्बा, अमला, लिच्ची, नास्पाती, कागती, मेवा, दूधजन्य पदार्थ, जडीबुटीजस्ता सबै पदार्थ किन्न सक्नुपर्छ । जबसम्म दुई जिल्लामा हामीले सामग्री पाउँछौं, अरू जिल्लामा जानु राम्रो हुँदैन । फेरि हामी नाफा मात्र हेरेर पहाड पसेका होइनौं । विकासको एउटा मोडल दिन गएका हौं । हामी सम्पन्न छौं, सक्षम छौं, हामी आफैं गर्न सक्छौं भन्ने सन्देश यो मोडलले दियो भने भोलि पहाडबाट सहर र विदेश गएका युवाहरू फर्केर कृषिमै लाग्छन् । त्यसैले तत्काल अरू जिल्लामा जाने योजना छैन । 

अर्को कुरा, यस्तो व्यवसायका लागि ठूलो लगानी चाहिन्छ । हामी केही युवा आफ्नो सबै सम्पत्ति लगाएर यसमा होमिएका छौं । अहिले नै हौसिएर थप जिल्लामा विस्तार गर्ने अवस्थामा छैनौं । हामीले लगानीको ठूलो अभाव खेपिरहेका छौं । सरकार वा बैंकले लगानी गरेर थप केही जिल्लामा यो मोडल विस्तार गर्न अनुरोध आयो भने हामी सहयोग गर्न सक्छौं । 



तपाईंको सामग्री काठमाडौं वा पूर्वी तराईका जिल्लासम्म पुगेको छैन, किन होला ?

दसैंसम्ममा काठमाडौंमा आउटलेट खुल्छ । पहाडी दलहन, घिउ र केही विशेष तरकारीको स्वाद काठमाडौंले पनि चाख्न पाउनेछ । अहिले जति सामग्री ती दुई जिल्लाबाट आउँछ, बुटवल वरपरका क्षेत्रमै बिक्री हुन्छ । अहिले भैरहवा र भारततिर पनि हाम्रा सामग्रीको माग हुन थालेकाले काठमाडौं र अन्य क्षेत्रमा पठाउन सकेका छैनौ । तैपनि केही विशेष सामग्री भने हामी काठमाडौंमा पठाउँछौं । 



एक वर्षमै जुन सफलता पाउनुभयो, यसको कारण के होला ?

असल उद्देश्य लिएर काम गर्ने र विकास हुने काम गर्ने जोसुकैलाई मानिसहरूले स्वागत गर्छन् । राम्रो काम गर्छु भन्दा नेपाली जनता अत्यन्तै सकारात्मक हुन्छन् । नेपाल असाध्यै धनी देश हो । पहाडमा उत्पादित सामग्री स्वादिला मात्र छैनन्, यसमा पौस्टिक तत्त्व पनि बढी हुन्छ । उदाहरणका लागि पहाडी अम्बा, कागती, आलुजस्ता सामग्रीमा पाइने पौष्टिक तत्त्व र तराईमा उत्पादित त्यही सामग्रीमा रहेको पौष्टिक तत्त्वको अध्ययन गर्दा पहाडका सामग्रीमा झन्डै दोब्बर बढी पाइएको छ । सरकारले गरेको अध्ययनले नै यो कुरा बताएको हो । यो कुरा विदेशीहरूलाई पनि थाहा छ । ती सामग्री भारतसम्म मात्र पुर्‍याउन सके यसको राम्रो मूल्य पाइन्छ । गाउँलेहरूलाई यो कुरा बिस्तारै थाहा हुँदैछ । सफलताको एउटा रहस्य यो पनि हो ।



नयाँ केही योजना छन् कि ?

हामी अहिले १० हजार परिवारसँग काम गरिरहेका छौं । ती प्रत्येक घरमा एक–दुई कोठा त्यत्तिकै थन्किएका छन् । विदेशी पर्यटकहरू हाम्रो पहाडी जनजीवन बुझ्न पाउँदा रमाइलो मान्छन् । ती पर्यटकलाई गाउँमा राख्न सक्नुपर्छ । एकसाथ १० हजार पर्यटक राख्न सक्ने क्षमता हामीसँग रहेछ । मात्र सोचको कमी हो । यो हामीले काम गरेको केही गाउँको मात्र कुरा हो । यस्ता रमणीय गाउँ नेपालभरि हजारौं छन् । ती गाउँमा हामी एकसाथ लाखौं पर्यटक राख्न सक्छौं । यो विकासको नयाँ मोडल हुन सक्छ । पैंचो पसलपछि यतातिर हात हाल्न सकिन्छ कि भन्ने सोच छ । 

Post a Comment

 
Top