आइतबार काठमाडौंमा सम्पन्न टेलिभिजनकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने एउटा कार्यक्रममा नृत्यकारहरूले लोकप्रिय टेलिभिजन च्यानलका स्टेसन आइडीमा नृत्य गरेर दर्शकहरूलाई मनोरञ्जनमात्र प्रदान गरेनन्, विभिन्न टेलिभिजन च्यानलमा कार्यरत टेलिभिजनकर्मी समेत रोमाञ्चित बनाए । टेलिभिजिन कलाकर्मी मञ्चले आयोजना गरेको ‘राष्ट्रिय टेलिभिजन सम्मान–२०७२’ को औपचारिक उद्घाटनपछि प्रारम्भ भएको मनोरञ्जक शैलीको पुरस्कार वितरण समारोहको प्रारम्भमै नृत्यांगनाहरूले नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजनसहित एक दर्जनभन्दा बढी नेपाली च्यानलका प्लेकार्ड प्रदर्शन गर्दै रमाइलो नृत्य प्रदर्शन गरे । 

नेपाली टेलिभिजन च्यानलहरूमा कार्यरत कलाकर्मीहरूको छाता संगठन नेपाल टेलिभिजन कलाकर्मी मञ्चले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको समारोहमा नेपाल टेलिभिजनका संस्थापक तथा वर्तमान अध्यक्ष चलचित्रकर्मी नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट एवार्डले सम्मानित गरियो । शाहलाई नेपाल टेलिभिजनको स्थापना, त्यसको विकास तथा टेलिभिजनकर्ममा पुर्‍याएको योगदानको कदर गर्दै नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो । 

अभिनेत्री तथा मञ्चकी अध्यक्ष दीपाश्री निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी पाएका थिए लोकप्रिय हास्य कलाकारद्वय दीपकराज गिरी तथा जितु नेपालले । समारोहमा कान्तिपुर टेलिभिजनका भूषण दाहाल, इमेज च्यानलका आरके मानन्धर तथा मिडिया हबका प्रबन्ध निर्देशक सोम धिताललाई विशेष सम्मान प्रदान गरिएको थियो भने टेलिभिजनकर्मीहरू आरती चटौत, प्रेम बानियाँ, ग्रीष्मा राजभण्डारी, सरल गुरुङ, प्रकाश सुवेदी, हास्य कलाकार कृष्ण ढुंगाना, हास्य कार्यक्रमहरू तीतो सत्य, जिरे खुर्सानी तथा मेरी बास्सैलाई विशेष योगदान सम्मानबाट सम्मानित गरिएको थियो । कार्यक्रममा विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भैरहेका लोकप्रिय कार्यक्रमहरूमध्ये कान्तिपर टेलिभिजनको हर्के हल्दार, नेपाल टेलिभिजनको झन्कार, हास्य श्रृंखलाहरु हाक्का हाक्की तथा भद्रगोल, इमेज च्यानलको उकाली ओराली, एबीसी टेलिभिजनको डायल १००, माउन्टेन टेलिभिजनको टोल टोलमा, अपणो नेपाल, एभेन्युज टेलिभिजनको व्यक्ति विषय र विशेष तथा सगरमाथा टेलिभिजनको तेस्रो आँखालाई प्रोत्साहन पुरस्कार प्रदान गरियो । यसका साथै समारोहमा टेलिभिजन ब्रोडकास्टर्स एसोसिएसन नेपाल तथा विज्ञापन एजेन्सी संघ नेपाललाई संस्थागत सम्मान प्रदान गरिएको थियो । समारोहमा सरोज खनाल, गणेश उप्रेती, कृष्ण मल्लसहितका अभिनेताले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने इन्दिरा जोशी, पशुपति शर्मा आदिले आफ्ना लोकप्रिय गीतमार्फत कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

Post a Comment

 
Top