काठमाडौ, श्रावण २ - नेपालमा भूकम्प, पहिरोलगायतका विपद्मा परी पुरिएका मानिसलगायत अन्य वस्तुहरूको खोजी तथा उद्धार गर्न सक्ने ‘रोबोट’ को पहिलोपल्ट विकास गरिएको छ । वैशाख १२ को महाभूकम्पपछि इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले त्यस्तो रोबोटको विकास गरेको हो । कलेजले खोजी तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बललाई रोबोट हस्तान्तरण गरेको छ ।
रोबोटको नाम सीएसएसआर (कोल्याप्स स्ट्रक्चर सर्चिङ रोबोट) राखिएको छ । यसले विपत्तिका कारण ध्वस्त भएका भग्नावशेषबाट जीवित, मृत मानिस, जनावरसहित विभिन्न वस्तुहरूको खोजी गर्ने काम गर्छ । यो रोबोट विशेषगरी भाग्नावशेषभित्रको स्थितिका बारेमा अवगत गराउने र त्यसभित्रका सम्पूर्ण वस्तुस्थितिको अवलोकन बाहिर कम्प्युटर वा प्रोजेक्टरबाट हेर्न मिल्ने गरी बनाइएको छ । यो रोबोटको निर्माणसँगै अब विदेशी मुलुकबाट पुरिएका मान्छे उद्धार गर्न ल्याइने मेसिनहरूको आवश्यक नपर्ने भएको छ ।
कलेजका प्रिन्सिपल डा. सुदन झाको सल्लाह तथा सुझावमा इन्जिनियरद्वय यज्ञप्रसाद देवकोटा र गणेश मगरले रोबोटको निर्माण गरेका हुन् । यसको निर्माण नेपाली बजारमै उपलब्ध हुने सरसामानबाट गरिएको हुनाले यो ज्यार्दै न्यून खर्चमा तयार भएको बताइएको छ । यसलाई करिब १२ भोल्टको ब्याट्री लगाएर बनाइएको छ । यसले हाल भाग्नावशेष भित्रको एक सय मिटरसम्मको दूरी कभर गर्न सक्छ । यसमा ४ वटासम्म क्यामरा लगाएर चारैतिर अवलोकन गराउन सकिन्छ । यो वाटर प्रुफ उपकरणले पानीमुनि ७ देखि १० मिटरसम्मको दूरीको अवलोकन गर्न सक्छ । सामान्यतया: यसले भग्नावशेष भित्रको यथास्थिति जानकारी गराउने लक्ष्य राखी बनाइएको हो ।
यो रोबोटले प्राकृतिक
विपद्हरूबाट ध्वस्त भएका वस्तुहरूको अध्ययन र अनुसन्धान गर्न सहयोग गर्न सक्नेछ,’ कलेजका प्रिन्सिपल झाले भने,‘यसै गरी हाम्रो बजार वा स्थानीय स्तरमा भएको इलेक्ट्रोनिक सामग्रीहरूबाट नै घरमै बसेर जडान गर्न सकिने यस रोबोटको विशेषता हो ।’ सशस्त्र प्रहरी मुख्यालयमा हस्तान्तरण कार्यक्रममा रोबोट जडान गरी प्रदर्शनसमेत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङले विपद्मा यस रोबोटले सहयोग गर्ने उल्लेख गर्दै भनेका थिए,‘हाम्रो मातहतमा रहेका सबै युनिटलाईसमेत
देखाएर विपद्मा सहयोग पुग्ने सक्ने भएकाले यसको प्रभावकारिताबारे अझ चर्चामा ल्याउने र प्रयोग गरिनेछ ।’
तामाङले नेपालको पूर्वक्षेत्रमा रहेर पनि नेपालको नै गौरव बढाउने काम गरेकाले कलेजलाई धन्यवाद दिंदै आगामी दिनमा यस्ता रोबोट उत्पादन गरी भूकम्प जस्तो दैवी प्रकोपमा हुने क्षतिलाई न्यूनीकरण गर्न यसले मदत गर्न सक्ने बताएका थिए ।
सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापनका लागि सहयोग पुग्न सक्ने र खोजबिन गर्न छिटो हुने उद्देश्यले कलेजले उत्पादन गरेको रोबोट उपलब्ध गराएको कलेजका निर्देशक अरुणकुमार राठीले बताए । राठीले यो रोबोट निर्माण गर्न धेरै रकम नलाग्ने जानकारी दिए ।
यो रोबोटले दैवीप्रकोप विपद्हरूबाट ध्वस्त भएका वस्तुहरूको अध्ययन र अनुसन्धान गर्न सहयोग गर्छ । यसलाई एकदमै सरल ढंगबाट प्रयोग गर्न सकिने गरी बनाइएको छ । यसलाई कुनै विशेष तालिमको आवश्यकता जरुरत पर्दैन । यसको सबैभन्दा राम्रो पक्ष भनेको हामै्र लोकल बजारमा उपलब्ध हुने इलेक्ट्रोनिक सामग्रीबाट सजिलैसँग आफै बनाउन सकिन्छ ।

Post a Comment