कुनै चोर मानिसले गरगहना, धनमाल चोरी गरेको भन्दै पीडित व्यक्ति प्रहरी चौकीमा उजुरी गर्न आउनु सामान्य हो । तर जब बाँदरले सिक्री चोरीको भन्दै कुनै मानिस यदि बाँदर विरुद्ध जाहेरी दर्ता गर्न प्रहरी चौकीमा पुग्यो भने के होला ?
भारतको कानपुरस्थित नजिरावाद प्रहरीलाइ पनि यस्तै धर्मसंकट पर्यो । एकजना महिला आफ्नो सुनको सिक्री बाँदरले चोरिदिएको भन्दै बाँदर विरुद्ध जाहेरी दर्ता गर्नका लागि प्रहरी चौकीमा पुगिन् ।
नजिरावाद प्रहरी चौकीका प्रमुख अखिलेश गौरले भने, ‘यदि कोही मानिसले सिक्री चोर्यो भने ऊ विरुद्ध जाहेरी दर्ता गरिन्थ्यो तर बाँदर विरुद्ध जाहेरी दर्ता गरेको हामीलाई थाहा छैन ।’
स्थानीय कौशलपूरी क्षेत्रकी बासिन्दा उर्मिला सक्सेना गत सोमबार मन्दिर जाँदै थिइन् । बाँदर उनिमाथि झम्टि्यो र उनले घाँटीमा लगाएको सिक्री चुँडाएर आधा भाग लिएर भाग्यो ।
त्यसपछि बाँदरले सिक्री चोरी गरेको भन्दै उर्मिला स्थानीय प्रहरी चौकीमा उजुरी गर्न गइन् । प्रहरीले तत्काल उजुरी लिएन तर उनको सिक्री चोरिएकेा भनिएको घटनास्थलमा भने उनीसँगै पुग्यो । आखिर कुनै मानिसले होइन, बाँदरले सिक्रि छिनालेर लिएर भागेको थियो । के कारवाही गर्नु ? प्रहरी त्यत्तिकै फर्कियो ।
तर जनतालाई सहयोग गर्ने दायित्व भएको प्रहरी गैर जिम्मेवार बन्ने कुरा थिएन । त्यसैले प्रहरी प्रमुख गौर स्थानीय नगर प्राधिकरणमा पुगे र त्यहाँका अधिकारीहरुलाई उक्त चोर बाँदर समात्ने अभियान चलाउन आग्रह गरे ।

Post a Comment