राजविराज: सप्तरीमा संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथि सुझाव संकलनस्थलमा मधेसवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुदाँ प्रहरीले चार राउण्ड अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको छ ।
सोमबार दुई पक्षबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गर्दै चार राउण्ड अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको स्थानीय राजु शर्माले बताए । निर्वाचन क्षेत्र नं. २ को भारदह र निर्वाचन क्षेत्र नं. ३ को राजविराजमा कार्यक्रम सुरु हुनासाथ मधेसवादी दलका कार्यकर्ताले होहल्ला र नारावाजी गरेका थिए ।
प्रहरीले भारदहको वि.पी.स्मारक माविस्थित सुझाव संकलनस्थलमा चेकजाँच गरेर प्रवेश गराएको विरोध गर्दै समूहमा आएका मधेसवादी दलका कार्यकताहरुले बल प्रयोग गरी प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।
प्रदर्शनकारीहरुले ढुंङ्गा प्रहार गर्नुका साथै सडकमा टायर बालेर अपरान्ह ४ः३० बजेसम्म पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए । प्रहरी र मधेसवादी दलका कार्याकर्ताहरुको झडपले तनावग्रस्त अवस्था भएपछि भारदह बजार बन्द भएको थियो ।
प्रदर्शनका क्रममा नेसपा गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, विरेन्द्र माझी, योगेन्द्र यादवसहित पाँच जना प्रदर्शनकारी र सशस्त्र प्रहरी हवल्दारहरु संजिव थापा, सुमन ठकुरी, सशस्त्र प्रहरीहरु सम्झना श्रेष्ठ र श्यामकुमार चौधरी घाइते भएका छन् ।
Post a Comment